गोरखा, मंसिर १९ –गोरखाको प्रतिनिधि र प्रदेशसभा चुनावको मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । २१ गते साँझ ५ वजेबाट मतगणना सुरु गर्ने तयारी सहित सबै सुरक्षा प्रबन्ध मिलाइएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताउनुभयो ।
गणनास्थलमा सिसी क्यामेरा जडान, तारजाली लगाउनेलगायतका काम सकिएको उहाँको भनाई छ । यस पटकको गणनामा दलका प्रतिनिधिलाई गणनास्थलमा मोबाइल फोन लैजान नदिने, पत्रकार र पर्यवेक्षकलाई पनि प्रवेश गर्न नदिनेलगायतका नियम बनाइएको उहाँले बताउनुभयो ।
क्षेत्र नम्बर –१ को गणनास्थल महिला तथा बालबालिका कार्यालयको हलमा दलका प्रतिनिधि र मतगणना गर्ने कर्मचारी बस्ने ठाउँको बीचमा लामो तारजाली लगाइएको छ । यस्तै क्षेत्र नम्बर –२ को गणनास्थल जिल्ला समन्वय समितिको सभाहलमा पनि त्यस्तै प्रकारको तारजाली लगाइएको छ । अनावश्यक मानिस नछिरुन् र विवाद नहोस्, भनेर मतगणनास्थल जालीले बारेको क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत सुरेन्द्रराज काफ्लेले जानकारी दिनुभयो ।
मंसिर १० गते भएको प्रदेश र प्रतिनिधिसभा चुनावको मतगणना गर्न कम्तिमा १० दिन लाग्ने देखिएको छ । मंसिर २१ गते साँझबाट मतगणना गर्नका लागि गणकहरुको छनौट गरी उनीहरुलाई अभिमूखीकरण पनि गरिसकिएको छ । तर, ६० जना कर्मचारी मतगणनामा खटिए पनि सम्पूर्ण नतिजा आउन भने करिब १० दिन जति लाग्ने देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतपेटिका राखिएको ठाउँमा गणनाका लागि पर्याप्त कोठा नभएकाले समय धेरै लाग्ने देखिएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिनुभएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका महिला तथा बालबालिका कार्यालय र क्षेत्र नम्बर –२ को जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ । दुबै कार्यालयमा गणनाका लागि आवश्यकता अनुसारका कोठा नभएको र सुरक्षाका दृष्टिले अन्य स्थानमा लान पनि नमिल्ने भएकाले गणनामा समय लाग्ने सापकोटाको भनाई छ ।
गोरखाको क्षेत्र नम्बर –१ मा ६३ हजार ६ सय ७२ र क्षेत्र नम्बर २ मा ६० हजार १ सय ९ मत खसेको छ । एक लाख ८९ हजार ४ सय ४८ मतदाता रहेको गोरखामा १ लाख २३ हजार ७ सय ८१ जनाले मात्र मतदान गरेका थिए । एउटा मतदाताले तीन वटा मतपत्रमा मतदान गरेकाले पनि गणनामा समय धेरै लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
0 Comments