शब्दले सानो उमेर समूहका केटाकेटी वाबच्चाहरुलाई बुझिन्छ भने ‘अधिकार’ भन्ने शब्दले प्राप्त गर्नुपर्ने हकलाई बुझिन्छ । यसरी ‘बालअधिकार’ शब्दले बालबालिकाहरुको हक र अधिकारका कुरालाई समेटेको हुन्छ । जसरी एउटा फालिएको काठलाई खोपेर वा कुँदेर राम्रो आकृति बनाउन सकिन्छ, त्यसरी नै बालबालिकाहरुलाई पनि अधिकाररुपी हतियारले एक कर्मठ र सबल नागरिकमा परिणत गर्न सकिन्छ ।
अन्तर्राष्ट्रियस्तरमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘बाल’ भनिन्छ भने नेपालको बालबालिकासम्बन्धी ऐन २०४८ ले ‘१६ वर्षभन्दा मुनिका सम्पूर्ण मानिसहरुलाई बालबालिका हुन्’ भनेर परिभाषित गरेको छ । नेपालमा बालबालिकाको हकहितको लागि थुप्रै कुराहरु समावेश गरिएको छ । अझ गतवर्ष जारी गरिएको नेपालको संविधान २०७२ ले झनै बालबालिकासम्बन्धी थुप्रै हक अधिकारहरु समेटेको छ । ‘प्रत्येक गाउँ साक्षर बनाउँ’ भन्ने अभियान बोकेर हिँडेका कार्यक्रमहरुको भूमिका सह्रानीय छ । बालबालिकाहरुको अधिकारसम्बन्धी महासन्धिमा ५० औं देशहरुको हस्ताक्षर रहेकोमा नेपालले पनि सहमति जनाएको छ । तर, के नेपालका सबै बालबालिकाहरुले न्यायोचित अधिकार पाएका छन् त ?
बालबालिका जन्मेपछि मात्र होइन, नजन्मदै पनि आफ्ना अधिकार सुनिश्चित गरेर आएका हुन्छन् । तर, म कहिलेकाँही अस्पतालहरुतिरको अवलोकन गर्न जाँदा यति आमाहरुले गर्भपतन गराए भन्दा आफू निराश हुनुपरेको छ । कतिपय सन्दर्भमा त अझ आफ्नो सौन्दर्यको लागि धेरै आमाहरुले आफ्ना बच्चालाई पोके दूध खुवाउँछन् । अनि के हामी स्वास्थ्य र नैतिकता मात्र पढ्नु बालबालिकाले आमाको दूध खान पाउनु नैसर्गिक अधिकार हो भनेर ? यसरी खानपानको कुरा मात्र नभएर सरोगेट मदरबाट जन्मिएका बच्चाहरु आफ्ना आमाबाबुको अनुहार पनि नहेर्दै मन्टेश्वरी र बोर्डिङ होस्टेलको दास हुनुपरेको देख्दा मलाई यो निबन्ध लेखिरहँदा कताकता नरमाइलो अनुभव भइरहेको छ ।
के हामी हाम्रो देश नेपालमा आजका बालबालिकाहरुको उचित स्याहर र रेखदेखविना नतै उज्ज्वल र विकसित कल्पना गर्न सक्छौं ? अहँ सक्दैनौं । थाहा छैन, २०६३ को जनआन्दोलनमा कति बालबालिकाको प्रयोग भयो ? तर, ती निर्दोष बालबालिकाहरु अहिले कोही अरबको खाडीमा पसिना बगाउँदै होलान्, कोही अङ्गभङ्ग भएर आफ्नो कर्म खोटो भन्दै बसिरहेका होलान् । ती अवोध बालापन खोसिएका बालकहरुजस्तै पिछडिनु पर्नेछ हामी पनि । पोखरा जाँदै थिएँ म । मसरहको केटो आएर मेरो झोला उठाएर गाडीमा हाल्यो । होटल जान्छु सानी बहिनी चिया लिएर आउँछे, कतै भाँडा माझिरेका । म विद्यालयमा टाई जुत्ता लगाएर जान्छु तर त्यही बाटो हिँडेका ती सडक बालबालिका जसको कुनै पहिरन हुँदैन तब मलाई मैले लगाएको टाइले उनीहरुलाई जिस्काएको जस्तो अनुभव हुन्छ । थाहा छैन म ती बालबालिकाहरुको लागि के गर्न सक्छु र ? तर, ती नाङ्गो खुट्टा हिँडेर सडकमा विस्थापित हुन परेका बालबालिका देख्दा त मैले लेखेको पहिलो र दोस्रो अनुच्छेदलाई नै खिल्ली उडाएकोजस्तो अनुभव हुन्छ ।
हामी बालमैत्री स्थानीय शासनको कुरा गर्छौं । तर, के सबै कुराहरु बालमैत्री छन् त ? यी हाम्रो अधिकारको विषयमा जोडिएको कुरामा हाम्रो पहुँच छ त ? हो, बालमैत्रीको सबालमा धेरै कुराहरु समावेश गरिएको छ । तर, हामी शौचालय जान्छौं, चुकुल हामीले भेट्ने ठाउँमा हुँदैन । पानी खान धारा खोज्छौं टुटी कता हो कता ? हामी स्कुल बस चढ्न खोज्छौं तर खुट्किलो टेक्न सक्दैनौं, हामी ठूल्ठूला आवाजमा कपुरी ‘क’ पढ्न खोज्छौं, तर हामी एउटा कोठाभित्र थुनिएर ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ पढ्न बाध्य छौं । हामी चाहेर पनि बालमैत्री शासनको प्रिय हुन सकेका छैनौं । हामी यस्ता निबन्धहरु सधंै लेख्न चाहन्छौं । तर, हामीलाई यस्ता अवसर असारमा मात्र किन उपलब्ध गराइन्छ ? किन हामीलाई जानी नजानी अंग्रेजी, विज्ञान पढ्न लगाइन्छ । हामी सचित्र नेपालको इतिहासका सिनेमाहरुमा रम्न चाहन्छौं ।
साच्चै नेपाल विकसित र धनी बनाउने हो भने बालबालिकाको नै ठूलो भूमिका हुनुपर्ने होइन र ? तर, देशमा बालबालिकाको यस्तो दयनीय अवस्था देख्दा त लाग्छ सरकार र सम्बन्धित निकायलाई भोलिका कर्णाधारको कुनै वास्ता नै छैन । कतिपय सन्दर्भमा त झनै पुरुषलाई मात्रै शिक्षा दिने चलन छ । यसरी महिलामा अनैतिक नियम लागू हुनु बालहकको विपरीतमा हुन जान्छ । यसैगरी सबै बालबालिकाको सिर्जनशीलताको अधिकार पनि हुन्छ । आफूमा भएको सिर्जना प्रस्फुटन गर्ने मौका नपाएकी भए विकट गाउँकी तेरिया फौजा मगर विश्वप्रसिद्व हुन सक्थिनन् । सिर्जनशीलताको अधिकार पनि बालअधिकारको एक अभिन्न अंग हो । मदन पुरस्कार विजेता अमर न्यौपानेको ‘करौडौं कस्तुरी’ ले पनि प्रकाश पारेको छ । यस्तै हिन्दी कथानक चलचित्र ‘तारे जमिन पर’ ले बालसिर्जनाको कुरालाई राम्रोसँग चित्रण गरेको पाइन्छ ।
शिक्षा, स्वास्थ्य, मनोरञ्जन, सञ्चारजस्ता क्षेत्रहरुमा बालबालिकाहरुको सहज पहँच नै बालअधिकारको अवधारणा रहेको छ । हाम्रोजस्तो भूकम्पले थिलोथिलो भएका बालबालिकाहरुको दिमाग असीमित ज्ञानको भण्डारले भरिनु अत्यावश्यक छ । डेढ वर्षको बालक युद्धको लागि प्रयोग भएको, ३ महिनासम्म विद्यालय बन्द, किशोरीलाई शारीरिक यातना, बस दुर्घटनामा बालकको मृत्यु, युद्धमा यति बालकको प्रयोगजस्ता अखबारका खबरले म झस्किन्छु । म स्वयं बालबालिका भएर यस्तो दयनीय अवस्था अध्ययन गरेपछि आफूलाई लज्जित ठान्छु । एकै आमा नेपाल आमाको सन्तान म रोजेर खाना खान्छु, सोलार इन्भर्टरमा बत्ती बाल्छु, रातलाई पनि दिन बनाउँछु, तातो कोठालाई एसी जोडेर चिसो बनाउँछु, गोडा फुट्छ भनेर मालिस गराउँछु तर एक बालक २१ औं शताब्दीको कुन उत्कृष्ट मनुवालाई सम्बोधन गरुँ कि मसँगै बिहान बेलुका खाना छैन, न्यानो दिने घाम छैन । आफन्त थिए होलान् उनलाई पठाउने खाम छैन । न बसन्त न ग्रीष्म कुनै याम छैन र ती नाबालक जसको कुनै नाम पनि छैन । म त यत्तिको लेख्ने मान्छे तर जो दृष्टिविहीन छन्, जो शारीरिकरुपले अशक्त छन् उनीहरुलाई के ? अझै पनि कतिपय समाजमा बालविवाह, कमलरी, देउकी, घुम्टोजस्ता प्रथाहरु गएका छैनन्, जसले देशमा नमूना बनेर बालअधिकारसम्बन्धी चित्रलाई उतार्न सक्छ ।
‘तुइन तरेर विद्यालय जानुपर्छ, खतरा नै खतरा छ ।’, ‘बिहान–बेलुका काम हुन्छ, टुकी बालेर पढ्दा केही देखिदैन ।’, ‘भूकम्पले गोडा थिचियो, सहर गए उपचार हुन्छ रे के गर्नु ?’ ‘ सर मिसले स्कूलमा लठ्ठीले पिट्नुहुन्छ ।’, ‘हामीले नबुझी पनि घोक्नु पर्छ ।’ जस्ता बिलौनाहरु कसैले पनि सुन्न नपरोस् । बालिकाहरु स्वतन्त्र भएर कक्षामा स्वतन्त्रता र देशभक्तिको गीत गाउन सकूँ । सबै बालबालिकाहरु खुला आकाशमा स्वतन्त्र भएर उड्न चाहन्छौं । हामी भोलि नयाँ नेपाल दिन चाहन्छौं, जुन बालमैत्री हुनेछ । जुन शान्त हुनेछ जहाँ बालबालिकाहरुको आवाजको सुनुवाइ हुनेछ ।
म भोलिको नेपाल, जहाँ सबै बालबालिकाहरु स्वतन्त्र भई रमेका, सबै शान्तिभूमिमा डण्डिबियो खेलेका र म नेपालको बालकहरु सगर्व भन्न सकेको कल्पनामा डुबेकी छु ।
0 Comments