स्थानीय निर्वाचन बहिस्कार गर्ने बताउँदै आएको विप्लव माओवादी समूहका कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन दबाब दिँदै पूर्वी चितवनको राप्ती नगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार किरणभूषण ओलीको निवासमा कालोझण्डा गाडेका छन् । नेकपा जिल्ला समितिका नामबाट राप्ती नगरपालिकाका मेयरका उम्मेदवार ओलीको नाममा काटिएको पत्रमा उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको हो । पार्टीका इन्चार्जरसेक्रेटरी लालबहादुर बिसीद्वारा हस्ताक्षरित उक्त पत्रमा तत्काल उम्मेदवारी फिर्ता गर्न आग्रह गरिएको तरुण दल क्षेत्र नं १ का सभापति प्रज्ज्वलजङ्ग दवाडीले जानकारी दिए । सभापति दवाडीले भने, ‘निर्वाचनको माहोल बढिरहेको र घरदैलो अभियानलाई तीव्र बनाइरहेको अवस्थामा मनोवैज्ञानिक त्रास फैलाउने किसिमले जुन हर्कत विप्लव समूहका कार्यकर्ताले गरेका छन्, तरुण दल कडा प्रतिवाद गर्न तयार छ ।’ यस्ता गतिविधिप्रति सचेत रहेको भन्दै उनले ’आइलाग्ने माथि जाइलाग्न पछि नपर्ने’ चेतावनी दिएका छन् । निर्वाचनको सरगर्मी बढिरहेका बेला मेयरको निवासमा कालो झण्डा गाड्ने र पत्र पठाउने काम गर्दा मनोवैज्ञानिक त्रास फैलिएको राप्तीका स्थानीयले बताएका छन् ।
0 Comments