पहिलो चरणमा बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारको हकमा आचार संहिता लागू भएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार मनोनयन दर्ता गराएसँगै उम्मेदवारमा स्वतः आचारसंहिता लागू भएको हो ।
आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय तह निर्वाचन आचारसंहिता लागू गरेको जनाएको छ। नेपाल सरकार, माताहतका निकाय, आमसञ्चार माध्याम, गैरसरकारी संस्थालगायतको हकमा भने फागुन १८ गते देखिनै आचार संहिता लागू भएको थियो ।
चुनावको क्रममा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न स्रोत साधनको दुरुपयोग गर्न सक्ने आशंकामाझ निर्वाचन आयोगले आचार संहिता लागू गरेको हो ।
आचारसंहितामा के छ र ?
– निर्वाचनमा सवारी साधन प्रयोग गर्दा महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल तथा वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन एउटा मोटर साइकल प्रयोग गर्न सक्नेछन्
– उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एकवटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल प्रयोग गर्न सक्नेछन् ।
– तर त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्नेछन् ।
– एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारी साधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने ।
– कसैले आचार संहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम कारबाही र सजाय हुनेछ ।
खर्चको सीमा
–महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले साढे ७ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
–महानगरपालिका वडाध्यक्षर सदस्यले ३ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
–उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले साढे ५ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
– उपमहानगरपालिका वडाध्यक्ष र सदस्यले साढे २ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
–नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले साढे ४ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
–नगरपालिका वडाध्यक्ष र सदस्यले २ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
–गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले साढे ३ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
–गाउँपालिका वडाध्यक्ष र सदस्यले साढे १ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
–जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखका उम्मेदवारले साढे २ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
जिल्ला समन्वय समिति सदस्यले साढे १ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन्
0 Comments